यसकारण पहिलेजस्तो हुनेछैन आन्तरिक उडान

काठमाडौं । करिब ६ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान आजबाट सुरु हुँदैछ । गत वर्ष चैत ११ बाट ठप्प आन्तरिक उडान आजबाट सुरु भएको हो ।

तर उडान सुरु गर्दा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारिएको छ । स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको छ ।

आफूहरूले पूर्ण क्षमतामा समेत यात्रुहरू सुरक्षित रूपले उडाउन सक्ने गरि तयारी गरेको नेपाल वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्कीले बताए । ‘विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले बनाएका मापदण्ड अनुसार उडान अघि, उडानभर र उडानपछि हुनुपर्ने कामका रूपरेखामा कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ,’ उनले भने ।

आन्तरिक उडानमा हुने नयाँ प्रावधानहरू यस्ता छन् :-
-विमानस्थलमा प्रवेश गर्न यात्रुहरुले मास्क र सर्जिकल पञ्जा अनिवार्य लगाएको हुनुपर्ने र ती उडान अवधिभर पनि कायम हुनुपर्ने
-विमानस्थलका कर्मचारी र यात्रुबिच सिधा सम्पर्क नहुनेगरी काउन्टरहरूको तय हुनुपर्ने
-विमानस्थलमा जहाजसम्म लैजाने गाडीमा भिडभाड नहुनेगरी प्रबन्ध हुनुपर्ने
-अत्यावश्यक नपरिकन ७० वर्ष माथिका व्यक्तिहरूलाई विमानमा यात्रा नगर्न आग्रह
-विमानभित्र हुने पेयरखाजा जस्ता खानपानका सेवामा हाललाई रोक
-विमानभित्र शौचालय प्रयोग नगर्न आग्रह
-आवश्यक विवरण रेकर्डका लागि आफ्नै कलमको प्रयोग गर्नुपर्ने
-यात्रुले पहिलेजस्तो ह्याण्डलगेज बोक्न नपाउने

यी नियमहरुको कडाइका साथ कार्यान्वयनका लागि अनुगमन संयन्त्र नै बनाइएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । आन्तरिक विमानस्थलमा प्रबन्धकको नेतृत्वमा र नागरिक उड्ययन प्राधिकरणले अनुगमन हुने भएको हो ।

प्राधिकरणका अनुसार आज ३८ देखि ४० वडा उडान हुनेगरी अनुमति दिइएको छ । नेपालका सबै चल्तीका विमानस्थलहरू खुला गरिएको भए पनि विमानसेवाहरूले आफूले पाएको उडान कोटाको अनुपातमा त्यो कुन रूटमा कतिवटा उडान सञ्चालन गर्ने भन्ने निर्णय गर्न सक्नेछन् ।

प्रतिक्रिया