काँचो सखुवाको रुख कटान प्रकरणः भालढुंगा सामुदायिक वनका कोषाध्यक्षको पनि बाहिरियो अडियो

  • भरतराज शर्मा (गोपाल)

धरान । भालढुंगा सामुदायिक वन उपभोक्ता समूहबाट धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अबैध रुपमा काँचो सखुवाको रुख काटेको विषयमा सोहि वन समूहका कोषाध्यक्षको समेत अडियो सार्वजनिक भएको छ ।

अडियोमा मेयर तिलक राईसहित आफू पनि संलग्न भएको र रुख काटेको कोषाध्यक्ष भीम बस्नेतले उपभोक्ता माझ स्वीकार गरेका छन् । कोषाध्यक्षले अडियोमा रुख हेर्न जाने कुरा भएपनि ढाल्ने कुरा नभएको र पछि रुख काटेको स्वीकार गरेका छन् ।

उनले मेयर तिलक राईसँगै आफु मेयर तिलक राईको गाडीमा प्रकाश राईले चलाएको पनि बताएका छन् । वन समूहको छलफलमा कोषाध्यक्ष बस्नेतले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । गएको भदौ १६ गते सोमबार साँझ ६ बजे भालढुंगा सामुदायिक वन उपभोक्ता समुहको भवनमा बसेको बैठकमा बोल्ने क्रममा वनका कोषाध्यक्ष बस्नेतले मेयर सहित आफू पनि रुख काट्न संलग्न भएको स्वीकार गर्दै माफीसमेत मागेका छन् ।

छलफलको क्रममा वनका एक उपभोक्ताले रुख काट्न को-को संलग्न हुनुहुन्थ्यो ? भनेर सोधखोज गर्दा कोषाध्यक्ष बस्नेतले आफू लगायत मेयर तिलक राई र राईको गाडी चालक प्रकाश राई समेत संलग्न भई रुख काटिएको र आफुबाट गल्ती भएको उपभोक्ताहरु माझ स्वीकार गरेका छन् ।

गत भदौ १३ गते शनिबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अवैध रुपमा भालढुंगा सामुदायिक वन समुहमा गएर काँचो सखुवाको रुख काटेको आरोप छ । उक्त प्रकरणमा मेयर तिलक राईले वन समूहसँग गल्ती भएको भन्दै माफीसमेत मागेको अडियो पनि सार्वजनिक भइसकेको छ । सोहि प्रकरणमा रुख काट्न संलग्न चार जनालाई सव-डिभिजन वन कार्यालय विष्णुपादुकाले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये दुई जनाले वन समूहका कोषाध्यक्ष भीम बस्नेतकै निर्देशन र सहभागितामा रुख काटिएको भन्ने बयान दिएपनि कोषाध्यक्ष भीम बस्नेत पनि आईतबार नै पक्राउ परेका छन् । रुख काटेको आरोपमा पक्राउ परेका चारमध्ये २ जनाले कोषाध्यक्ष बस्नेतको निर्देशनमा रुख काटेको बयान दिएपछि वन कार्यालयले सो बारे बुझ्न बस्नेतलाई उपस्थित हुन पत्राचार गरेको थियो । पक्राउ परेका बस्नेतलाई आइतबारै तरहरास्थित वन कार्यालयको हिरासतमा पठाएर अनुसन्धान अगाडि बढाईएको छ ।

सामुदायिक वन समूहको काँचो सखुवाको रुख अवैध रुपमा काटिएको प्रकरणमा आरोपी धरानका मेयरलाई उन्मुक्ति दिने कार्य भएको भन्दै बिभिन्न क्षेत्रबाट आलोचना भईरहेको छ । मेयरलाई बचाउन नेपाली कांग्रेसका स्थानीयदेखि केन्द्रीय तहका नेतृत्वहरु लागि परेका छन् । नेपाली कांग्रेस धरान नगर समिति, नेपाल तरुण दलका मेयर नजिक केही व्यक्तिहरु अन्य व्यक्तिलाई कवुल गराएर मेयरलाई उन्मुक्ति दिने रणनीतिमा छन् ।

सखुवाको रुख कटान प्रकरणमा संलग्न चार जनालाई सव-डिभिजन वन कार्यालय विष्णुपादुकाले यसअघि नै पक्राउ गरी कोभिडको महामारी देखाई रोहबरमा छाडिसकेको छ । सार्वजनिक भएको अडियोमा मेयर तिलक राईकै संलग्नता देखिने आधार भएपनि सव-डिभिजन वन कार्यालयले मेयरलाई छुने आँट नगरेको स्थानीयको भनाई छ ।

यता सव-डिभिजन वन कार्यालय विष्णुपादुका प्रमुख तथा अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद यादवले रुख कटान प्रकरणमा निष्पक्ष छानविन भइरहेकोले दोषी प्रमाणित भए जुनसुकै ठूलो पदमा रहेकालाई पनि नछोड्ने बताए । मेयर तिलक राईले सखुवाको रुख काट्न आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया