शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पत्रकार द्वय घिमिरे र आचार्य पुरस्कृत 

विराटनगर । विराटनगरका पत्रकारद्धय शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिवार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो ।

पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ ।

विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिँदै आएकोमा यो पटक भर्चुअल रूपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली (आईपीएस) मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मानपत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्यालले भने,“आचार्य नेपाली राजनीतिको मूर्धन्य नेता थिए । उनको कर्तव्य पथले अहिले पनि नेपाली राजनीतिक क्षेत्रमा प्रेरणा दिई रहेको छ ।”

पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । उनले भने,“कोभिडका कारण आम पत्रकारको समस्या बढ्दो अवस्थामा छ । धेरै समस्या राज्यबाट सम्बोधन हुने किसिमका भए पनि हुन सकेको छैन ।” उनले परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको सुनाए ।

शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए ।

उनले भने,“उहाँ भ्रष्टाचारका विरुद्धमा अडान लिने र साहसी नेता हुनुहुन्थ्यो ।” त्यस अवसरमा युनियनका पूर्वाञ्चल संयोजक लिला वल्लव घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल, नेपाली काँग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस सङ्गठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले मन्तव्य राखेका थिए ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईँलगायत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया