एलपी ग्यासकाे खाली सिलिण्डरको नयाँ मूल्य तोकियो

काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिण्डरको नयाँ मूल्य तोकिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको हो ।

यसअघि ग्यास बिक्रेताले मनलाग्दी भाउमा खाली सिलिण्डर बिक्री गर्ने गरेका थिए । यस्ताेमा उपभाेक्ता ठगिने भन्दै संघले पहिलाे चरणमा बागमती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका एलपी ग्यासकाे खाली सिलिण्डरकाे मूल्य ताेकेकाे हाे ।

बागमती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । उनका अनुसार सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर एक सय गरेर २१ सय धरौटी तोकिएको हाे ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत् लिन समेत अनुरोध समेत गरेको छ । आफ्नो कम्पनीबाहेक अरूकाे खाली सिलिण्डर साटेकाे थाहा भएमा कारवाही हुने समेत संघले चेतावनी दिएकाे छ ।

प्रतिक्रिया