जयनगर आइपुग्यो नेपालको रेल

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेलको दुई सेट आज नेपाल आइपुग्ने भएको छ । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेल सेट दिउँसो नेपाल आइपुग्ने भएको हो ।

बिहीवार साँझ साढे ६ बजे जयनगर पुगिसकेको सेट रेल आज मध्यान्हसम्म जनकपुर स्टेशन आइपुग्नेछ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुर आइपुग्‍ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

आवश्यक कानून बनाएर दशैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।

प्रतिक्रिया