धरान उप–महानगरपालिकाद्वारा ई सेवाबाट राजस्व भुक्तानीकाे सुरूवात

सुनसरी । धरान उप–महानगरपालिकाले नेपालमै पहिलो पटक अनलाईन विद्युतिय प्रणाली ई सेवा तथा कनेक्ट आईपिएस सेवाको माध्यमबाट राजश्व भुक्तानीको शुरुवात गरेको छ । आज (बिहीबार) एक पत्रकार सम्मेलनमार्फत् उक्त व्यवस्थाबारे जानकारी दिइएकाे हाे ।

धरानका मेयर तिलक राईकी आमा र उपमेयर मन्जु भण्डारीले राजस्व तिरेर उक्त सेवाकाे सुरूवात गरे । आजबाट उक्त सेवा सुरू भएपछि सेवाग्राहीहरुलाई राजश्व तिर्न घण्टौँ लाईन बस्नुपर्ने झन्झटसमेत हटेको छ ।

उक्त कार्यक्रममा उप–महानगरपालिकाका नगर प्रमुख तिलक राईले कोरोना भाईरसको महामारीका कारण जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम हुने भन्दै अनलाईन भुक्तानी प्रणालीले थप सहज हुने बताए ।

सो अनलाईन प्रणालीबाट सुरु भएको सेवासंँगै करदाताले तिर्नुपर्ने र बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत कर (भूमिकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर भुक्तानी गर्न सकिनेछ ।

पत्रकार भेटघाटकै क्रममा उप–प्रमुख मञ्जु भण्डारीले प्रविधिको प्रयोग गर्दा शुरुमा केही असजिलो भएपनि दैनिक जीवनमा अभ्यस्त बनाउन सकियो भने नागरिकको समय बचत तथा विद्युतिय शासनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको बताइन् ।

सेवाग्राहीले सो भुक्तानीका लागि सबैभन्दा पहिला आ-आफनो वडा कार्यालय मार्फत् धरान उप–महानगरपालिकाको राजश्वको सफ्टवेरमा रहेको करदाताको विवरणमा मोबाईल नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्नु पर्नेछ । यसबाट मोबाईलमा म्यासेज र ईमेलमा कर भुक्तानी गरेको बिल आउने भएकाले अनलाईन भुक्तानी प्रणालीमा आवद्ध हुन यो व्यवस्था अनिवार्य गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया