ऊर्जामन्त्रीकाे सचिवालय भन्छ- ‘कुलमानको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको छ’

काठमाडौं । दुई दिनअघि नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः चार वर्षे कार्यकालका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सचिवालयले प्रस्ताव गरेकाे छ ।

मन्त्री पुनकाे सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत् उक्त कुरा प्रष्ट पारेका हुन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेका हुन् ।

उनले मन्त्रिपरिषद्‍ले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषद्‍ले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वास व्यक्त गर्दै लेखेका छन्- ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय वर्षमान पुनज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेस गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आमजनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

भदाै २८ मा कुलमानकाे चार वर्षे कार्यकाल सकिएकाे थियाे । उनलाई भदाै ३१ मा औपचारिक रूपमा बिदाइ गरिएकाे थियाे । बिदाइ हुँदै गर्दा उनले त्यहाँका कर्मचारीहरुलाई धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया