बैङ्कहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैङ्कको कति ?

काठमाडौँ । आधा दर्जन बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदै गरेको चाड दसैँ र तिहारलाई लक्षित गरेर बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । चाडपर्वमा विशेष गरी नयाँ सवारी साधन खरिद गर्ने गरेका छन् ।

लकडाउन कै कारण दुइपाँग्रे सवारी साधनको बिक्री वितरणमा वृद्धि भएको छ । लकडाउनको सुरुवातमा बिक्री नै नभएको अवस्था थियो । तर लकडाउन थपिँदै जाँदा साना सवारी साधनको बिक्री वृद्धि भएको थियो । बन्दमा सवारी साधन सञ्चालन नहुनु र कोरोना सर्ने चिन्ताले नै सवारी साधन बिक्रीमा सुधार आएको हो ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई हरेक महिना सुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निर्देशन दिएपछि बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

आउँदै गरेको दसैँ र तिहारमा सवारी साधन तथा घर खरिद गर्न चाहनेहरुका लागि रकमको अभाव छ भने बैङ्कहरूले सस्तोमा घर तथा सवारी कर्जा ल्याएका छन् । बैङ्कहरूले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कुन बैङ्कको कति प्रतिशत ब्याजदर ?

नबिल बैङ्क 
बैङ्कको २०७७ साउन मसान्तसम्मको आधार दर ७.१९ प्रतिशत रहेको छ । यसले घर तथा गाडी कर्जामा अधिकतम ५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्ने छ ।

नेपाल इन्भेस्टमेन्ट बैङ्क 
बैङ्कले कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । बैङ्कले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे घर कर्जाको १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै बैङ्कले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैङ्क
बैङ्कले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैङ्कले हालको आधार दर ८.६९ प्रतिशत तोकेको छ । सो आधार दरमा अधिकतम ५ प्रतिशतसम्म थप गरेर घर तथा सवारी कर्जा प्रवाह गराउने बैङ्कले जनाएको छ ।

एनसीसी बैङ्क
एनसीसी बैङ्कको असार मसान्तसम्मको आधार दर ९.०३ प्रतिशत रहेको छ । बैङ्कले यसै आधार दरका आधारमा कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैङ्कबाट कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैङ्कबाट सवारी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्ने छ भने घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

राष्ट्रिय वाणिज्य बैङ्क
बैङ्कले घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैङ्कले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको हो । गाडी कर्जामा आधार दरमा ३.२५ प्रतिशतसम्म छ । यसको आधार दर ५.८ प्रतिशत छ ।

एभरेस्ट बैङ्क
बैङ्कको साउन मसान्तसम्मको आधार दर ७.४८ प्रतिशत रहेको छ । बैङ्कबाट कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैङ्कबाट हाउजिङ, भेहिकल ऋण लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

मेगा बैङ्क
मेगा बैङ्कको आधार दर ८.३० प्रतिशत छ । सो अनुसार बैङ्कले कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैङ्कले न्यूनतम १ वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेसन लोन लगायत कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया