डिजिटल प्रविधिमा फड्को मार्दै संचयकोष

काठमाडौं । संचयकोष डिजिटल प्रविधिमा फड्को मार्दै गएको छ । कोरोनाकै बीच कर्जा सापटीदेखि कर्जा ब्याज तथा किस्ता अनलाइनबाटै भुक्तान गर्ने सक्ने सेवा प्रदान गर्दै आएको कर्मचारी सञ्चयकोष आज ५९ औं वर्षमा प्रवेश गर्दैछ ।

कोषको सबै सेवाहरूलाई डिजिटलाइज गर्दै कागज विहीन बनाउने अभियान स्वरुप कोष अगाडि बढेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए । सामान्य कामका लागि कोषको कार्यालयमै पुग्नुपर्ने अवस्था हटेको छ । कोरोना अघिसम्म कुनै पनि सञ्चयकर्ताले सानो कामको लागि पनि कोषको कार्यालय पुग्नुपर्ने अवस्था थियो ।

कोषले बुधबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको छ । कोषको डाटा सेन्टर यसभन्दा अगाडि कर्मचारी सञ्चयकोषको भवन ठमेलमा राखिएको थियो । कोषले यस वर्ष सबैभन्दा धेरै सूचना तथा प्रविधिको क्षेत्रमा फड्को मारेको छ । कोषले आफ्ना सञ्चयकर्तालाई देशका विभिन्न स्थानमा आवास सुविधा उपलब्ध गराउने भएको छ । आफ्ना सञ्चयकर्तालाई आवसको सुविधा दिन कोषले देशका विभिन्न स्थानमा आवास निर्माण कार्यलाई अघि बढाउन लागेको हो ।

यसका साथै कर्मचारी सञ्चयकोषले सुन्धरास्थित काठमाडौं महललाई ‘रिनोभेट’ गर्ने भएको छ । कोषले उक्त भवनको दक्षिणपट्टीको साइटमा पारदर्शी लिफ्ट रोखेर महलको माथिल्लो तलमा जान मिल्ने बनाउन लागेको हो । कोषका प्रशासक गौतमले काठमाडौं महलबाट धरहरा राम्रोसँग अवलोकन गर्न मिल्ने गरी महलको ‘रिनोभेट’ गर्न लागिएको बताए ।

‘आम सर्वसाधारणहरू काठमाडौं उपत्यका अवलोकन गर्नका लागि धरहरा चड्छ भने सबैलाई लोभ्याउन धरहरा कस्तो रहेछ भनेर हेर्न अब मानिसहरू काठमाडौं महल चड्ने गरी महललाई रिनोभेट गर्न लागिएको हो,’ उनले भने । महलमा जडान गरिएको पारदर्शी लिफ्ट चडेर आम मानिस धरहरा हेर्दै महलको छतसम्म पुग्छ, त्यहाँबाट धरहराको अवलोकन गरेर फेरि तल धरहरा हेर्दै ओर्लन्छन्,’ उनले भने ।

नयाँ बन्दै गरेको ऐतिहासिक धरहरा सबैको चासो र आकर्षकको विषय रहेको उनले बताए । ‘पक्कै पनि धरहरा कस्तो रहेछ भन्ने चाख सबैमा हुन्छ,’ उनले भने हामीले धरहरलाई राम्रोसँग देखिने गरी महलको रिनोभेट गर्न लागेका हौं ।

यसको रिनोभेटसँगै कर्मचारी सञ्चय कोषले राजधानीको त्रिदेवीमार्ग, ठमेलमा रहेको पुरानो भवन भत्काएर नयाँ बनाउने योजना अहिलका लागि स्थगन भएको छ । उक्त स्थानमा रहेको भवनलाई भत्काएर १२ तले नयाँ व्यवसायिक भवन बनाउने योजना बनाएकोमा अहिलेका लागि सो भवन निर्माण कार्य स्थगत गरिएको प्रशासक गौतमले बताए ।

‘कोरोनाअघि नयाँ लक्जरियस भवन बनाएर व्यवसायिक संस्थालाई भाडामा दिने योजना कोषको बनाएको थियो,’ उनले भने ‘कोभिडका कारण पर्यटक आगमनमा कस्तो असर पर्छ र यहाँ भएका व्यवसायीक भवनहरू कसरी सञ्चालन हुन्छन्, यसको अवस्था हेरेर पछि निर्माण गर्ने गरी अहिलेलाई सो भवन निर्माण कार्य रोकिएको हो ।’ कोषले ठमेलमा रहेको कार्यालयलाई टेकुमा सारेर ठमेलमा नयाँ व्यवसायीक भवन बनाएर भाडामा दिने योजना अघि बढाएको थियो ।

सातै प्रदेशमा कार्यालय भवन बनाउँदै कोष

कर्मचारी सञ्चयकोषले जनकपुर र धनगढीमा पनि कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्ने भएको छ । कोषले जग्गा खरिद गरेर कार्यालय भवन निर्माण गर्न लागेको हो । सुर्खेत र कोहलपुरमा भवन निर्माणका लागि ठेक्का दिइसकेको छ । उक्त भवन निर्माण लागि १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको छ ।

पोखरा र हेटौडाको जग्गामा भवन निर्माणका लागि माटो परिक्षण र नक्सा डिजाइनको काम भइरहेको छ । यसरी ६ ठाउँमा कार्यालयको काम हुँदैछ । विराटनगरमा क्वाटर निर्माण भइरहेको छ । यो कार्य दुई महिनाभित्र बनिसक्नेछ । विराटनगरको अफिस केही समयअघिमात्र उद्घाटन गरेको हो । बुटवलमा अफिसको लागि एउटा तयारी भवन नै किन्ने गरी कृषि विकास बैंकसँग छलफल भइरहेको गौतमले बताए ।

हाल कर्मचारी सञ्चयकोषमा ३ खर्ब ५० अर्ब ६० करोड कोष मौज्दात छ भने निवृत्तभरण कोषमा ४७ करोड रुपैयाँ रहेको छ । कोषले सञ्चयकोष र निवृत्तभरण कोषमा वार्षिक ७ प्रतिशतका दरले ब्याज प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया