बैंकमा तरलता बढ्दै : राष्ट्र बैंक भन्छ- ‘बजारमा कर्जा सहज होस् भनेर तरलता नै छाेडिएकाे हाे’

काठमाडौं । काेभिड १९ काे प्रभाव कम गर्न जारी गरिएकाे लकाडाउनका कारण बैंकहरुमा अधिक तरलता थुप्रिएको  छ । कोरोना प्रभावले उद्योग र व्यापारलगायत सञ्चालन नभएका कारण कर्जा प्रवाह हुन नसक्दा बैंकहरुमा अर्बाै रुपैयाँ तरलता जम्मा भएकाे हाे ।

कोरोनाले बजारमा कर्जाको माग न्यून भएका कारण बैंकिङ प्रणालीमा अधिक तरलता भएको राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बजारमा कर्जा सहज होस् भनेर तरलता नै छाेडिएकाे बताए । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तान्ने भएको छ । बजारमा पैसा भएन भने पनि राष्ट्र बैंकले दिने गरेको छ । अहिले करिब २ खर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ ।

अहिले बैंकहरुले ब्याजदर घटाउनेदेखि सहज ढंगले ऋण प्रवाह गर्नेसम्मका योजनाहरु ल्याइरहेका छन् ।

नविल बैंकको सिइओ अनिल केशरी शाहले बैंकलाई विश्वास गरेर नै उपभोक्ताले बैंकमा ल्याएर पैसा जम्मा गरेकाले बैंकमा तरलता वृद्धि भएको बताए । उनले भने–‘घरमा पैसा राख्नुभन्दा बैंकमा नै पैसा राख्नु सुरक्षित हुन्छ भनेर उपभोक्ताले हामीलाई विश्वास गरेका हुन् ।’

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कोरोनाको कारण बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) बढेको बताए । बन्दको कारणले कर्जा लिन आउने संख्या कम भएका कारण बैंकमा तरलता भएको हो । कोरोनाका कारण पुराना व्यवसायहरु विस्तार नहुँदा र नयाँ व्यवसायी पनि नथपिएका कारण अधिक तरलता देखिएको उनकाे भनाइ छ ।

प्रतिक्रिया