घुमथाङ पहिराे : मृतकको संख्या १३ पुग्याे

सिन्धुपाल्चाेक । जिल्लाकाे बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ । पहिराबाट २२ घर पूर्ण रुपमा क्षति भइ ३१ जना बेपत्ता भएका थिए । आंशिक रुपमा क्षति भएका घरको लगत संकलनकाे काम भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बाह्रबिसे– ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ । आज घुम्थाङ भिरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

योसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिराले बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङ भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् । रासस

प्रतिक्रिया