मनलाग्दी पसल खोल्दा कोरोनाको जोखिम बढ्यो, के पुनः निषेधाज्ञा हुन्छ ?

काठमाडौं । सरकारको आदेश विपरीत व्यापार सञ्चालन भएको छ । सरकारले बनाएको तालिकाअनुसार व्यापार व्यवसायी सञ्चालन नहुँदा काठमाडौंमा कोरोनाको जोखिम बढ्दै गएको छ ।

काठमाडौंमा कोरोना संक्रमित देखिनासाथ सरकारले देशैभर लकडाउन गरेको थियो । ४ महिना लकडाउन भएपछि व्यापारी र उद्योगीले अब लकडाउन खोल्नुको विकल्प नरहेको भनेर विरोध गरे पनि सरकारले पनि लकडाउन खोलेको थियो । तर, लकडाउन खुलेको केही दिनमा नै कोरोना संक्रमितको संख्या वृद्धि भएपछि सरकाले निषेधाज्ञा खोलेको गरेको थियो ।

३ हप्तासम्म जारी रहेको निषेधाज्ञा जारी रहेको थियो । निषेधाज्ञा कै बीचमा व्यापारी र उद्योगीले निरन्तरको बन्दले समस्यामा परेको भन्दै सरकारलाई निषेधाज्ञा खुकुलो पर्न आग्रह गरेको थियो । सो अनुसार सरकारले पसल खोल्ने तालिका नै बनाएर निषेधाज्ञा खुकुलो बताएको थियो ।

तर सरकारले बनाएको तालिकालाई नकार्दै सबै किसिमका पसलहरु खुलेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि तालिकाभन्दा फरक तरिकाले पसल खुलेको बताएको छ ।

प्रशासनका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेश विपरीत व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर सरकारले अर्काे स्टेप चाल्नुपर्ने बताए ।

उनले मकालु खबरसँग भनेका छन्,–‘सरकारले सर्तसहित निषेधाज्ञा खुकुलो बताएको हो । अब सबैले त्यो सर्त भुलेर पसल सञ्चालन गर्ने हो, कोरोनाको संक्रमण वृद्धि हुँदै जान्छ । कोरोना वृद्धि हुँदै गएका सरकार पुनः लकडाउन गर्ने अवस्थामा पुग्ने छ ।’

सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाइदिएको समेत दाहालले बताए । सरकारको आदेश मान्नुभन्दा पनि आफ्नो र समाजको लागि कोरोना नफैलियोस् भनेर मान्न जरुरी रहेको उनले बताए । मापदण्ड अनुसार व्यापार, व्यवसाय सञ्चालन गर्न व्यापारीहरुलाई उनले आग्रह समेत गरेका छन् ।

कस्तो छ सरकारले जारी गरेको व्यापारिक तालिका

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।

काठमाडौँ उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने छ । अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी दिउँसो १२ बजे देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ ।

सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइनेछ । सवारी साधन मर्मतसम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाना र बस्नको व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने छ ।

प्रतिक्रिया