दशैंका लागि काठमाडौंमा खसी–बोका ल्याउने तयारीमा खाद्य संस्थान, कति पर्ला मूल्य ?

काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यसपाली पनि सरकारले काठमाडौं उपत्यकावासीलाई दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ ।

कोरोना महामारी सुरु भएको ७ महिना भइसकेको छ । यही कोरोना महामारीको समयमा नै दशैं नजिकिँदै गएको छ । अन्तरजिल्ला यातायात सवारी साधन सञ्चालन भइसकेको छैन । कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने पनि यकिन भइसकेको छैन ।

दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपत्यका ल्याउने प्रक्रिया सुरु गरेको छ ।

आउदो दशैंका लागि खाद्य संस्थानले ३ हजार खसी–बोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको हो । खसी–बोका तथा च्याङ्ग्रा ल्याउनका लागि खाद्यले ५ करोड ९९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

अघिल्लो वर्ष पनि सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका आयातमा कम्पनीले कूल ५ करोड ९९ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

खसी–बोका र च्याङ्ग्रा उपलब्ध गराउन चालू आर्थिक वर्षको बजेट पारित हुने क्रममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुबेदीले बताए ।

सुबेदीले भने–‘कुन जिल्लाबाट कति खसी–बोका तथा च्याङ्ग्रा आयात गर्ने भनेर यकिन भइसकेको छैन । हामीले प्रमुख जिल्ला अधिकारीसँग बसेर यस विषयमा केही दिनभित्रै छलफल गर्छौँ । मूल्य पनि निर्धारण गर्नेछौँ ।’

यस्तै प्रमुख सुवेदीले खसी–बोका दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट काठमाडौं उपत्यका ल्याइने बताए । तर च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउनुपर्ने सुवेदीको भनाइ छ ।

प्रतिक्रिया