प्रदेश १ मा थप ३ जनाको मृत्यु, ३६ जना डिस्चार्ज, ७७ सङ्क्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ पुष्टि हुनेमा मोरङका ६२, सुनसरीका १४ र उदयपुरका १ जना छन् । विराटनगरमा आज ४६ जनामा सङ्क्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कूल कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६९६ पुगेको छ ।

प्रदेश १ मा आजै ३६ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया