गौतमबुद्ध विमानस्थलको कार्यप्रगती रिपाेर्टः कहिले हुन्छ तयार ?

काठमाडाैं । रुपन्देहीको भैरहवास्थित बन्दै गरेको राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९२.५ प्रतिशत भौतिक प्रगती भएको छ भने वित्तिय प्रगति ६३ प्रतिशत भएको छ ।

विमानस्थलमा हालसम्म ३ हजार मिटरको धावनमार्ग, ट्याक्सी वे एवम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भइ विद्युतीकरण सम्बन्धी कार्य सुचारु भएको छ । यस्तै अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम् कन्ट्रोल टावर सम्बन्धी कार्यको संरचना निर्माणको कार्य पनि सम्पन्न भएको छ । हाल उपकरण जडान, फिनिसिङ, इन्टेरियर वर्क्ससम्बन्धी कार्यह चालु अवस्थामा छ ।

भित्रि तारवार एवम् नाला बनाउने कार्यहरु पनि अन्तिम चरणमा पुगेको छ । ICB -02 अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडान पूर्व तयार हुनुपर्ने भौतिक संरचनाहरु तयार भइरहेको मन्त्रालयका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लकडाउन अवधिमा मात्रै पेरिमिटर सडक, फेन्सिङ्ग निर्माण, नाला बनाउने लगायतका कार्यहरु सम्पन्न भएका छन् । टर्मिनल भवनमा मार्बल, टायल, आल्मोनियम एवम् रंगरोगन सम्बन्धी कार्यहरु पनि गरिएको छ । हाल उपकरण जडानका लागि ३५ जना चिनिया दक्ष प्राविधिक/इन्जिनियर जनशक्ति ल्याउनका लागि आवश्यक कागजात सहित सम्बन्धित निकायमा पत्राचार गरिएको पनि उनले जानकारी दिए ।

लकडाउन अवधिमा चिनियाँ २९ सहित औसतमा करिब २७५ जना कामदारले दैनिक कार्य गरिरहेका थिए । प्रेस संयाेजक श्रेष्ठका अनुसार लकडाउन अवधिकाे भाैतिक प्रगती करिब ४.५ प्रतिशत भएकाे छ ।

विमानस्थलकाे काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको थियाे । तर बिचमा विभिन्न अवराेधहरू आएपछि पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियाे । तर काेभिड महामारीका कारण समयमै निर्माण सम्पन्न हुन सकेन ।

प्रतिक्रिया