‘प्रत्येक वर्ष ८ लाख जनशक्तिले जीवन खेर फालिरहेका छन्’

विराटनगर । पछिल्लो समय आत्महत्या विश्वव्यापीकरण जटिल बन्दै गएको छ । यसको रोकथाम, न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रत्येक वर्षको सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ ।

त्यस्तै विराटनगरमा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा तीनपैनीको आयोजनामा आत्महत्या न्यूनीकरण तथा रोकथाम सम्बन्धी ‘छलफल तथा अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रत्येक मानिसले ४० सेकेण्डमा आफ्नो जीवनको हत्या गर्ने गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । प्रत्येक वर्ष ८ लाख जनशक्तिले जीवनलाई खेर फालिरहेको अर्थात् आत्महत्या गरिरहेको डिएसपी राईको भनाइ छ । नेपालको तीन वर्षको आँकडालाई हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दो अवस्थामा रहेको उनले बताए ।

‘पछिल्लो समय मोरङ जिल्लामा पनि आत्महत्याको घटना बढ्दो नै रहेको छ, त्यसमा पनि आत्महत्या गर्दा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या बढी छ’, उनले भने, ‘आत्महत्यालाई किन रोक्न, घटाउन सकिरहेका छैनौँ ? भन्ने विषयलाई मनन गरेर यस्ता खालका घटनालाई न्यूनीकरण गर्न जरुरी छ ।’

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको सङ्ख्या पुरुषको बढी रहेको छ । तथ्याङ्क अनुसार पारिवारिक, मानसिक समस्याका कारण अत्यधिक मात्रामा आफ्नै सुत्ने कोठामा आत्महत्या गरेको पाइएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क अनुसार पेसागत हिसाबमा हेर्दा कृषि पेसामा आबद्ध रहेका व्यक्तिहरूले बढी मात्रामा आत्महत्या गरेका छन् । अवैध यौन सम्बन्ध तथा गर्भधारण, मानसिक विचलन, आर्थिक अभाव, समुदायमा तिरस्कृत, सोचे अनुसार काममा सफलता नहुनु जस्ता कारणहरूले अधिकांश मानिसहरू आत्महत्या गर्ने गरेको डिएसपी राईले बताए । उनले भने, ‘आत्महत्याका पूर्व सङ्केत नै सहायताका पुकार भएकाले यस्ता सङ्केत बुझेर उचित परामर्श तथा सहयोग गर्न आकस्मिक उपचारको व्यवस्था गर्नु जरुरी छ ।

नकारात्मक सोच पनि आत्महत्याको मुख्य कारण रहेको एनप्याब्सनका केन्द्रीय सल्लाहकार राजन छाहाराङले बताए । उनले भने, ‘पछिल्लो समय इन्टरनेटको माध्यमा मोबाइलमा खेलिने खेलले पनि बच्चाहरूको दैनिक जिउने जीवनशैली बिग्रँदै गएको छ, यसले पनि बच्चाहरूमा नकारात्मक सोच पैदा हुन्छ, यस्ता खालका गतिविधि रोक्न समाज, परिवार उत्तरदायी भएर लाग्नुपर्दछ ।’

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रहरीले मात्रै नभएर स्कुल, कलेज अन्य संघ संस्थाले सहकार्य गरेर लाग्नुपर्नेमा उनले जोड दिए ।

न्यूरो अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा.रन्जन थापाले आत्महत्या डिप्रेसन वा अन्य मानसिक रोगको कारण गर्ने गरेको बताए । अधिकांश मानिसहरू पीडा सहन नसकेर आत्महत्या गर्ने गरेको उनको भनाई छ । आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकोले रोकथाम त्यति सरल नभए पनि न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

देशको कानुनले आत्महत्यालाई पनि अपराधको सीमाभित्र बाँधेको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले बताए । एसपी खड्काले आत्महत्या गर्नुभन्दा अगाडी गर्नुपर्ने सचेतनाका कुरा, मेडिकल साइन्सका विषयमा पनि सबैले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हाम्रो समाजमा तनाव, हीनताबोधलाई सामान्य हिसाबले लिने त्यो सँगै डिप्रेसनको अवस्थालाई पनि सामान्य मानेर छोराछोरी बिग्रियो बिहे गरिदिने चलन रहेको छ, यस्तो अवस्थालाई बुझेर साथ दिने वा उपचार गर्नुपर्दछ ।’

आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम कोरोना भाइरस सङ्क्रमणका कारण ल्याउन नसकेको र सङ्क्रमणको अवस्था केही सुधार आएसँगै प्रहरीले सचेतनामूलक कार्यक्रम समुदायमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया