प्रकृतिको विनाश: ५० वर्षमा जीवहरूको सङ्ख्या दुई तिहाइभन्दा बढी घट्यो

काठमाडौं । वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ ।

विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ । संरक्षणसम्बन्धी वैज्ञानिकहरूले सन् १९७० यता विश्वभर यस्ता जीवहरूको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको बताएका छन् । वैज्ञानिकहरूले यो कमीलाई ‘विध्वंसकारी’ भनी व्याख्या गरेका छन् ।

खानेकुरा र खानेबानी
प्रतिवेदन लेखनमा सहभागीहरूले चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनहरूको सङख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताए ।

तर प्रकृतिको विनाश कम गर्न यसअघि गरिँदै आएका प्रयासमा तत्काल थप कदमहरू चालिने हो भने समय त्यति घर्कि नसकेको पनि उनीहरूले बताएका छन् । प्रकृतिको विनाश रोकथाम गर्ने ती प्रयासमा हाम्रो खाने बानी र हामीले उत्पादन गर्ने खानेकुरा पनि पर्छन् ।

जङ्गलको विनाश गर्ने, समुद्रमा अत्यधिक माछा मार्ने र जङ्गली जीवहरूलाई सखाप पार्नेहरूले यसको असर पृथ्वीमा स्पष्ट रुपमा देख्न थालेको वैज्ञानिकहरूको भनाइ छ । तर तत्काल यसविरुद्ध कदमहरू चालिए अहिलेको प्रवाह उल्टिन सक्छ भन्ने प्रमाणहरू पनि रहेको उनीहरूले बताएका छन् । बीबीसी

प्रतिक्रिया