अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि…

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने वर्ष २६ को विवस अधिकारीले यसरी किर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सआइबी)को टोलीले पक्राउ गरेको हो ।

सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवश अधिकारी भन्ने नामबाट २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी सूचना बनाइ मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा रु दुई करोड १३ लाख रकमान्तरण हुने विवरण बनाइ किर्ते गरेका पाइएको बताए ।

उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत तयार गरी विवस अधिकारीलाई अदालतबाट रु एक लाख छ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी कागजात तयार पारेका पाइएको प्रहरीले जनाएको छ ।

यसरी कागजात तयार पार्न काठमाडौँ जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ ।

उक्त कसुरमा संलग्न विवस अधिकारीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाडौँको सतुङ्गलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले आज बताए ।

अनुसन्धानको क्रममा उहाँको डेरा कोठामा खानतलासी गर्दा कीर्ते कागजपत्रहरू फेला परेकोले आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =