फिफा विश्वकप २०२६ः डीगोले ल्यायो ५४९ रुपैयाँको मोबाइल पास

काठमाडौँ । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ ।

कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।

विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा डीगोले नेपाली दर्शकलाई लक्षित गर्दै मोबाइलमार्फत खेल हेर्ने सकिने विशेष प्याकेज ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार दर्शकहरूले डीगो एपमार्फत विश्वकपका सबै १०४ खेल नेपाली वा अङ्ग्रेजी कमेन्ट्री (दुवै) मा प्रत्यक्ष हेर्न सक्नेछन् ।

विज्ञप्तिअनुसार मोबाइल–ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेलहरू प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । डीगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ ।

विज्ञप्तिमा डीगोले दर्शकलाई अनधिकृत स्ट्रिमिङ लिंक तथा नक्कली प्लेटफर्मबाट सावधान रहन आग्रह गरेको छ । यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने भन्दै कम्पनीले आधिकारिक डीगो एपमार्फत मात्र विश्वकप हेर्न अनुरोध गरेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ का खेलहरू टेलिभिजनतर्फ हिमालय स्पोर्टस च्यानलमार्फत प्रसारण हुने व्यवस्था गरिएको छ । फिफाले नेपालका लागि दिएको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्मले नेपालभित्र विश्वकप प्रसारण गर्न नपाउने व्यवस्था रहेको छ ।

विश्व फुटबलको महाकुम्भ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक राष्ट्रमध्येको एक मेक्सिकोले दक्षिण अफ्रिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =