नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध : महामन्त्री बुर्लाकोटी

बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
मकवानपुरको हेटौँडामा आजदेखि सुरु भएको रास्वपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै फरक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा निर्माण प्रक्रियामा खुला प्रतिस्पर्धा, विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्री बुर्लाकोटीले घण्टी बजाएर अधिवेशनको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्य जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय नेताको सहभागिता थियो ।
हेटौँडास्थित हिमालय दरबारमा सुरु भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता थियो ।








