संसदीय समिति बनाएर अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ: सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका संसाद तुलप्रसाद विश्वकर्माले संसदीय समिति गठन गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथी छानबिन गर्नुपर्ने बताएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले अर्थमन्त्री डा वाग्लेले संसदमा पेस भइसकेको आर्थिक विधेयकलाई १६ पेज गायब गरेर करका दर हेरफेर गरेको आरोप लगाए । संसदमा आर्थिक विधेयक पेस गरेको २४ घण्टा नबित्दै विधेयकको १६ पृष्ठ हटाएर विधेयकलाई संशोधन गरी सार्वजनिक गरिएको उनको भनाई छ ।
उक्त पृष्ठहरू हटाइनुको कारण करका दर तथा भन्सार महसुलमा ठुलो हेरफेर र चलखेल भएको उनको आरोप छ । उनले यस प्रकारको घटना नेपालको संसदीय इतिहासमा पहिलो पटक भएको बताए । सांसद विश्वकर्माले अर्थमन्त्रीले कसको दबाब वा स्वार्थमा परेर करको दर हेरफेर गरेको हो रु भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
उनले भने ‘अर्थमन्त्रीले संसदमा आर्थिक विधेयक पेस गरेको २४ घण्टा नहुँदै रातारात आर्थिक विधेयकको १६ वटा पेज गायब गरेर त्यसमा फेरि पेज घटाएर अर्को विधेयक ल्याएको कुरा आइरहको छ । यो १६ पेज हटाउनुको मुख्य कारण करको दरभाउमा ठुलो हेरफेर र चलखेल गरेको कुरा उठेको छ । मलाई लाग्छ, यो नेपालको संसदीय इतिहासमा सायद यो पहिलो घटना हो । अर्थमन्त्रीले आफूले पेस गरेको बजेटलाई आफूखुसी वेबसाइटबाट हटाएर १६ पेज गायब गरेर फेरि त्यसलाई पेस गरेको पहिलो घटना हो । अर्थमन्त्रीद्वारा जुन यो गैर जिम्मेवार काम भएको छ, यो अत्यन्त गैरजिम्मेवार काम हो । यो काममा उहाँको के स्वार्थ रहेको छ ? क–कसको दबाबमा परेर उहाँले यो काम गर्नुभयो ? त्यसको छानबिन हुनुपर्छ । विवाईडी लगायत विद्युतीय गाडीहरू ७ सय ७४ थान त्यही बीचमा नेपालमा भित्रिएका छन्, नेपाल भित्रिएपछि प्रहरीले त्यसलाई कब्जामा लिएको छ, त्यसमा अर्वौको चलखेल भएको आंशका छ । अर्थमन्त्रीले आफूखुसी जुन गैरजिम्मेवार काम गर्नुभएको छ, त्यसको घोर भर्त्सना गर्दछु । यस घटनाको गम्भिरतापुर्वक छानबिन गरियोस्, त्यसको लागी छिट्टै संसदीय छानबिन समिति बनाउन माग गर्दछु ।’
उनले सोही समयमा ७ सय ७४ थान विद्युतीय गाडीको आयातले पनि आंशका उब्जाएको बताए । आर्थिक विधेयकमा भएको करसम्बन्धी फेरबदल र त्यससँग जोडिएका सबै विषयको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनले सरकारसँग माग गरे ।








