प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र नियमावलीको पालना गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले सभाको स्थापित पद्धति विपरीत व्यवहार गरेको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपश्चात प्रतिपक्ष दलहरु सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मंगलवारको बैठकमा शहीदप्रति बेन्चबाटै मौनधारण गरे । मौनधारणपछि सदनलाई सम्बोधन गर्दै अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।

प्रतिपक्षी दलका सदस्यहरूले फरक विषयमा समय माग गरेपछि सभामुखले समय उपलब्ध गराएको अवस्थामा पनि, सदस्यहरूले हलबाटै आफैँ समय तोकेर सभा सञ्चालन गर्न खोज्नु संसद्को अपमान भएको उनको तर्क थियो ।

उनले भने ‘मुलुकका लागि ज्यान आहुति दिने सहिदहरूप्रति हाम्रो सधैँ उच्च सम्मान छ र रहिरहनेछ । उनै शहीद र परिवारको परिकल्पनाअनुसार निर्वाचित भएर आएका प्रतिनिधिहरूको यो उच्च सभा सभामुखले सञ्चालन गर्ने हो । तर सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्न खोज्ने प्रयासले यस गरिमामय सभाको अपमान भएको देखिन्छ ।’

उनले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन र सभालाई नियमानुसार मर्यादित ढंगले सञ्चालन गर्न सबै सदस्यहरूलाई सहयोगका लागि सचेत गराएका छन् ।

संसदीय प्रणाली र स्थापित परम्पराको पूर्ण पालना गर्दै सदनको गरिमा उच्च राख्न उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =