सुधन गुरुङबारे छानबिन समितिको म्याद थप, पाँच दिनभित्र प्रतिवेदन बुझाइने

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप गरिएको छ ।

समितिको प्रारम्भिक म्याद सोमबार सकिएको थियो । समितिले नै थप समय आवश्यक परेको भन्दै सरकारलाई म्याद थपका लागि पत्राचार गरेको थियो ।

छानबिन समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार आजदेखि लागू हुने गरी पाँच दिन म्याद थप गरिएको छ । उनले बाँकी काम सम्पन्न गरी समयमै प्रतिवेदन बुझाइने बताए । ‘अब बाँकी काम सकेर समयमै प्रतिवेदन बुझाउँछौँ,’ अध्यक्ष भण्डारीले भने ।

समितिले गत साता नै पूर्वगृहमन्त्री गुरुङको बयान लिइसकेको छ भने विभिन्न निकायबाट आवश्यक प्रमाणहरू पनि संकलन गरिरहेको छ । केही थप प्रमाण माग गर्दै सम्बन्धित कार्यालयहरूलाई पुनः पत्राचार गरिएको भए पनि सबै विवरण भने अझै प्राप्त भइसकेका छैनन् ।

गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् ।

समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको सेयर, हदबन्दीभन्दा बढी जग्गा तथा अन्य विवादित जग्गा सम्बन्धी विषयमा छानबिन गर्ने कार्यादेश दिइएको छ ।

गुरुङ गत चैत १३ गते गृहमन्त्री बनेका थिए । सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवाद चर्किएपछि उनले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =