योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छः महामन्त्री बुर्लाकोटी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पारे ।

उनले मुलुकमा बढ्दो कुशासन, भ्रष्ट्राचारजन्य अपराधलाई कानुनी एवं राजनीति भूमिकाको नेतृत्वबाट नियन्त्रित गर्न सबै नेतृत्व तहमा पार्टीमा आज इमान्दारीको खाँचो परेको बताए ।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ हुने प्रदेशस्तर र स्थानीय निकाय निर्वाचनमा पार्टीको युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुनको लागि जनताको बीचमा पुग्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएको भए पनि नेता र कार्यकर्ताको बीच नेतृत्व तहको क्षमतामा सक्षम र इमान्दारी नरहे रास्वपाले जिम्मेवारी नदिनेतर्फ जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य प्राप्ति गर्ने र जनतालाई विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता क्षमतालाई निर्वाचनको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्लाको बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =