सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला


काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए ।
उनले दलहरूबिच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताए । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उनको भनाइ छ । उनले केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गरे । उनले सरकारले छलफललाई निष्कर्षमा पुर्याएर छिट्टै नियुक्ति गर्ने बताए ।
उनले भने ‘यसमा सरकार नियमित प्रक्रियाबाट छलफलको प्रक्रियामा छ । कहिले कहीँ कुनै जिम्मेवारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ । कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिनसक्छ । तर तपाईँहरूलाई यति कुरा म भन्न चाहन्छु कि सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्याउँछ । सरकारको बिचमा दलहरूको बिचमा गभर्नर नियुक्तिको बिचमा कुनै अन्तर्विरोध असमझदारी त्यो भएको अवस्था छैन । नियमित प्रक्रियाकै ढंगबाट यो अगाडि बढेको छ । केही दिनभित्रैमा तपाईँहरूले गभर्नर नियुक्ति भएको समाचार सुन्न पाउने हुनेछ । केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेवारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ । र केही दिनभित्रमा यो निर्णय आउँछ । थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ ।’
प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताए । उनले राजावादीहरूको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाए । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उनको भनाइ छ ।
उनले भने ‘मुलुकलाई द्वन्द्वतर्फ लैजान कहीँ कतैबाट खेती गर्न सकिन्छ कि भन्ने प्रायोजित र षड्यन्त्रको विषय मात्रै हो । कदापि पनि नेपाली समाज कुनै वंशमा जन्मिएका कोही व्यक्तिलाई देशको सर्वोच्च आसनमा स्वीकार गरेर त्यस हिसाबले मुलुक हुकुम प्रमाङ्गीबाट चल्ने बन्दैन । त्यो उहाँहरुले यो मुलुकको सरल ढंगबाट अघि बढिरहेको राजनीतिलाई स्थायीतर्फ विकास र समृद्धितर्फ त्यो पथमा अगाडि बढिरहेको देशलाई कहीँ कतैबाट डिस्टर्ब गर्न सकिन्छ कि भन्ने केही प्रतिक्रियावादी शक्ति पनि छन् । विद्यमान संविधान र व्यवस्थाको विरोधमा हुने सबै खालको गतिविधिहरूको प्रतिवाद र विरोध गछौँ ।’
प्रमुख सचेतक बर्तौलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताए ।
