शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँशु ननिकालौँ : काँग्रेस सांसद तिमल्सिना


काठमाडौं । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे ।
उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताए ।
उनले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।
उनले भने ‘धेरै मान्यज्युहरुले संसदमा शिक्षकको कुराहरु बोलिसक्नुभएको छ । यो विषयमा मेरो धेरै भन्नु केही छैन । शिक्षकका मागहरु सम्भव भएसम्म सबै पूरा गरेर उहाँहरुलाई स्कुल पठाउने वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु । उहाँहरुले जहिले पनि भन्दै आउनुभएको छ । शिक्षालाई स्थानीय तहमा राख्नु हुँदैन भनेर । यसमा संविधान संशोधनको कुरा आउँछ । अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार । तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुभयो । नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौँ । सत्तामा बस्नबाट कोही वञ्चित हुनुहुन्न । सत्तापक्ष पनि सरकारमा, प्रतिपक्ष पनि सरकारमा बसिसक्नुभएको छ । कोही पनि सरकारबाट बाहिर हुनुहुन्न ।’
सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताए ।
