पोषण भत्ता वृद्धि गर्न सांसदहरूको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले बालबालिकालाई दिँदै आएको पोषण भत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।

सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषण भत्ता वृद्धि हुनेगरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन् ।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाए ।

सांसद महेश बस्नेतले इलाममा चिया उत्पादन गर्न किसानले युरिया मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले किसानलाई किबीको उचित मूल्य उपलब्ध गराउन सरकारसँग माग गरे ।

सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरिन् ।

सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्नेमा जोड दिए ।

सांसद रणकुमारी बलम्पाकी मगरले बालबालिकाको भविष्यसँग खेलबाड गर्न नहुने भन्दै शिक्षक आन्दोलन बन्द गरेर समाधानको बाटो खोज्न सुझाव दिइन् ।

सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएको भन्दै आपत्ति जनाए ।

सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैर जिम्मेवारीले सर्वसाधारणको जीवन जोखिममा परेको बताइन् ।

सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकासका काम वातावरणमैत्री हुन नसक्दा खानेपानीको मुहान जोखिममा रहेको बताए ।

सांसद राजेन्द्रकुमार राईले बजेट अभावले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे ।

यसैगरी, सांसदहरू रामकुमार राई, रामकिशोर यादव, रुपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरूसँग वार्ता गर्न ढिला गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *