‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’


काठमाडौं । नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बिपी) को आदर्श तथा सिद्धान्तहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले तिनको अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालले आज आयोजना गरेको ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा वक्ताहरूले समाजवाद र उन्नत लोकतन्त्रका लागि बिपीका विचारहरू मार्गदर्शक हुने धारणा राखेका हुन् ।
कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको स्थापनापछि सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेख्य सुधार भए पनि समग्र अर्थतन्त्र र शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘हाल गाउँ–गाउँमा राम्रा सडक बनेका छन्, ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बिजुली सुविधा पुगेको छ । पछिल्लो दुई दशकमा धेरै गुणात्मक सुधार भएका छन्’, उनले भने, ‘तर अझै पनि अर्थतन्त्रका लागि धेरै चीज गर्न बाँकी छ । कृषि, उद्योग क्षेत्र धराशायी भएको छ । यसमा गम्भीर बनौँ ।’
बिपीले ग्रामीण जीवनको विकासलाई केन्द्रमा राखेर समाजवादको कल्पना गरेकाले अहिले पनि कृषि र ग्रामीण अर्थतन्त्र विकासलाई केन्द्रमा राख्न सके आर्थिक विकास सम्भव हुने डा यादवको भनाइ छ ।
नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणले समस्या सिर्जना गरेको पनि उनले उल्लेख गरे । यस्तै, नदीनाला तथा चुरे क्षेत्रको दोहन रोकेर पर्यावरणमैत्री विकास गरिनुपर्नेमा प्रथम राष्ट्रपति डा यादवको जोड थियो ।
मुलुकमा लोकतन्त्रको स्थापनाका लागि नेपाली कांग्रेस पार्टीको ठूलो योगदान रहे पनि कार्यकर्तामा त्यसको अपनत्व नरहेको उनको बुझाइ छ । प्रथम राष्ट्रपति यादवले नेपालको ऐतिहासिक उपलब्धिलाई देखाउन छुट्टै सङ्ग्रहालय स्थापना गर्न आवश्यक रहेकामा जोड दिए ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादको अवधारणाअनुसार केही पालिकाहरूलाई नमूना पालिकाका रूपमा अघि बढाउन सकिने योजना सुनाए । ‘बिपीको कल्पनालाई लागू गर्नेतर्फ जान सक्यो भने मात्र उहाँको दूरदृष्टि सफल हुनेछ । सुरुआतमा कुनै एउटा–दुईटा पालिका वा गाउँ मात्रै बिपीले कल्पना गरेअनुसार बनाउन सकिन्छ । यसमा लागौँ’, उनले भने ।
हाल सरकारमा रहेका व्यक्तिहरूले आफ्ना कमजोरी लुकाउनका लागि मात्रै यो व्यवस्था जान्छ कि भन्नेबारे देखावटी चिन्ता व्यक्त गरिरहेको डा कोइरालाको जिकिर छ । ‘हामीले ल्याएको लोकतन्त्र जान्छ कि भनेर नेतृत्वले चिन्ता गर्दै छलफल गरेको देखियो तर त्यो आफ्नो कमीकमजोरीलाई लुकाउन मात्र छलफल गरेको हो’, उनले भने, ‘गणतन्त्र जाँदै छ, राजतन्त्र आउँदै छ भन्ने खतरा अहिले छैन । आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन् । गणतन्त्र जाँदैन ढुक्क हुन्नुस् ।’ नेता डा कोइरालाले विद्यमान संविधानमा केही कमजोरी छन् भनेर सबैले स्विकारी सकेकाले यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । ‘शिक्षक, चिकित्सक, कर्मचारी, लघुवित्तपीडित तथा सहकारी पीडितहरू सडकमा आन्दोलनरत छन् । यी आवाजलाई सरकारले बेवास्ता गर्नुहुँदैन’, डा कोइरालाले भने, ‘यसबाहेक नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनु भनेको सरकारबाटै कानुनको उल्लङ्घन गर्नु हो । सो पद रिक्त हुनु एक महिना अगावै अर्को नियुक्ति प्रक्रिया थाल्ने विद्यमान कानुनी व्यवस्थालाई सरकारले लत्याएको छ । यो राम्रो होइन ।’ सार्वजनिक संस्थाहरूमा राजनीतिक नियुक्त र नेता नजिकका व्यक्ति छान्ने प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजनीतिक दलका नेताहरूले देशको हितमा निर्णय गर्नुपर्ने नीति नै बिपीको नीतिको मूल सार रहेको उल्लेख गरिन् ।
मुलुकको अर्थतन्त्र बलियो हुन सके मात्र प्रजातन्त्र बलियो हुने उल्लेख गर्दै उनले ग्रामीण विकासलाई केन्द्रमा राखेर सरकारका नीतिहरू आउनुपर्ने बताइन् । नेतृ कोइरालाले राजनीतिक दल र सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले एक अर्कालाई गाली गर्ने मात्र नभई समस्याको तार्किक र उचित समाधान दिन सक्नुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउदले बिपीले सबैका कुरा सुन्ने गरेको स्मरण गर्दै हाल नेपाली कांग्रेसभित्र प्रश्न उठाउनेलाई सम्मान गर्ने र उठेका प्रश्नको जवाफ दिने परम्परा कमजोर हुँदै गएको बताए ।
आज पनि बिपीका सूक्ष्म चिन्तन र सिद्धान्तबाट प्रजातन्त्रलाई संस्थागत गर्ने तथा मुलुकलाई स्थायित्व दिने प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्व मुख्यसचिव विमल कोइरालाले बिपी समाजवादको द्रष्टा रहेको धारणा राखे । उनले बिपीको सिद्धान्त बिर्सेर कांग्रेस राष्ट्र निर्माणको एजेण्डाबाट विचलित भएर सत्ता स्वार्थमा बढी केन्द्रित भएको आरोप लगाए ।
कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादअनुसार नै कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै सार्वजनिक संस्थालाई बलियो र तटस्थ हुने अवस्था बनाउन सके मात्र शासन बलियो बताए ।
डा सुन्दरमणि दीक्षितले कांग्रेसले नै बिपीको सिद्धान्तलाई बिर्सेर कम्युनिष्ट विचारधारा बोक्न थालेको आरोप लगाए । राजनीतिक विश्लेषक सिके लालले हाल बिपीको विचारबारे निकै कम मन्थन हुने गरेको उल्लेख गर्दै बिपीलाई बुझ्ने हो भने उनका भाषण र राजनीतिक दर्शन मात्र नभई साहित्य पनि बुझ्न आवश्यक रहेको जिकिर गरे ।
पूर्व राजदूत प्रा लोकराज बरालले राजनीतिक, आर्थिक, साहित्यिक क्षेत्रमा बिपी कोइराला पुनर्जागरणको प्रतीक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्रा डा जयराज आचार्यले शिक्षा, स्वास्थ्य, आवास जस्ता आधारभूत आवश्यकता पूरा गर्न नसके बिपीको समाजवादले सार्थकता नपाउने धारणा राखे ।
कार्यक्रममा बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालका अध्यक्ष इन्दिरा थापाले हालको परिप्रेक्षमा समाजवादलाई कसरी बुझ्ने भन्ने बुझाउन ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । यस पुस्तकले बिपी कोइरालाको सामाजिक र आर्थिक अवधारणालाई अहिलेको परिप्रेक्ष्यमा कसरी बुझ्ने भनेर स्पष्ट पार्ने बताइन् ।
