भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने


काठमाडौं । २५६९औँ बुद्ध जयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतम बुद्धको अमूल्य अस्तुधातु, काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइने भएको छ ।
श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आज आयोजना गरेको छलफल कार्यक्रममा अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्तिसहित शोभा यात्रा गराइने भएको जानकारी गराइयो । ‘मेरो जन्म अरूको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिए ।
भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु–याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।
यस वर्षको बुद्ध जयन्ती यही वैशाख २९ गते परेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने परम्परा रही आएको छ । यसका लागि बौद्ध क्षेत्रमा मूल समारोह समिति गठन गरिएको जनाइएको छ ।
