सरकारलाई माओवादीको प्रश्न– प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।
उनले प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गरे । सरकारले शुरुदेखि नै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै अहिले आफ्नै पार्टीका मन्त्रीहरूलाई समेत बर्खास्त गरेको बताए ।
उनले सरकारले एकपछि अर्को मनलाग्दी गर्दै कानून मिच्नेदेखि जथाभावी गर्ने गरेको बताउँदै आफूहरूले सबै कुराको ठिक छ भन्न नसक्ने धारणा गरे ।
सांसद सापकोटाले सरकारले बेथिति र विकृतिको संरक्षण गर्ने र बिचौलियाहरूलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षीको नाताले हामीले सरकारको गलत कदको सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गर्ने जिकिर गरे ।
उनले भने– ‘भर्खरै मान्य ज्यूले भन्नुभयो, यो सरकार आजै ढल्छ, भोली ढल्छ भनेर भ्रमण सिर्जना नगरियोस् । तपाइहरू खुरुखुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई डेलिभरी दिन्छौँ भनेर आउनुभएको हो नि ठूला पार्टी मिलेर । भटाभट हाम्रो मुखमा बिर्को लाग्ने गरी काम गर्नुस् न, के ले रोकेको छ तपाइहरूलाई ? आएका दिन देखि कुलमान जीलाई झम्टिनुभयो, हुँदाहुँदै त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो । बोल्न नपाइने निरङ्कुशता जे छ तपाइहरूसँग तपाइहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभाबी गर्ने अनि यो सबै कुराको हामीले ठिक छ भनेर भनिदिनुपर्ने ? हामी त्यसो भन्न सक्दैनौँ । तपाईँहरूले एकपछि अर्को गरी कानून र संविधानलाई उल्लङ्घन गर्नुभएको छ । बेथिति विकृतिको संरक्षण गरिराख्नुभएको छ र विचौलियाहरूलाई खुसी पारिराख्नुभएको छ । हामी प्रमुख प्रतिपक्षी हुनुको नाताले त्यसको हामीले सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गरेको हो । हामी भन्न चाहन्छौँ, तपाइहरू सुध्रिने तिर किन जानुभएन ?’
उनले देशको अर्थतन्त्र सत्तापक्षका नेताहरूले दाबी गरेजस्तो उत्साहपूर्ण नरहेको बताए ।
