किन पक्राउ परिन् सांसद माया राई ? सूचना पुग्यो संसद सचिवालयमा


काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जानकारी दिएको हो ।
सांसद राईलाई शनिबार साँझ कपनस्थित घरबाट पक्राउ गरिएको बताइएको छ । राईमाथि कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप छ र उनलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारी संस्थाको सञ्चालक समितिमा सहसचिवको पदमा कार्यरत थिइन् । प्रारम्भमा उनलाई उन्मुक्ति दिइएको थियो, जसको कारण चौतर्फी आलोचना पनि भएको थियो । तर, हालको अनुसन्धानले राई र अन्य पाँच व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ, जसमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।
राईलाई सो सहकारी प्रकरणमा फरार रहेका ३९ जनामा समेटिएको छ । यस प्रकरणमा राईको भूमिका महत्वपूर्ण रहेको र उनलाई अझै अनुसन्धान प्रक्रिया अघि बढाइने कुरा प्रहरी स्रोतहरूले बताएका छन् । राई जनजाति कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् र पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी हुन् । उनी समानुपातिक सांसदको रूपमा प्रतिनिधि सभामा उपस्थित छिन् ।
यो पनि : सांसद तथा कांग्रेस नेतृ माया राई सहकारी ठगी अभियोगमा पक्राउ
