मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ : सञ्चारमन्त्री गुरुङ


ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थितिको परिवर्तनसँगै कार्यशैली, ऐन, कानून र प्रणालीमा समेत परिवर्तन आवश्यक भएको स्पष्ट पारेका छन् ।
नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले केवल व्यक्तिको परिवर्तनले मात्र प्रणालीगत सुधार सम्भव नहुने धारणा व्यक्त गरे । ‘परिस्थिति बदलिएपछि ऐन बदलिनुपर्छ, कार्यशैली बदलिनुपर्छ, सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन,’ उनले भने ।
उनले अहिले पनि नेपालका धेरै कानूनहरू पुराना व्यवस्था (पञ्चायती शासन) कालमा बनेका भएकाले विकास अवरुद्ध भएको तर्क प्रस्तुत गरेका छन् । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) जस्ता संस्थाहरूका नियमनसम्बन्धी कानूनहरू आजसम्म अद्यावधिक नभएको उल्लेख गर्दै उनले नयाँ व्यवस्थासँग मेल खाने कानून निर्माण गर्न ढिलाइ हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
मन्त्री गुरुङले आफ्नो सुरुवाती चाहना गृह वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने रहेको तर प्रधानमन्त्रीको आग्रहअनुसार सञ्चार मन्त्रालयको जिम्मेवारी स्वीकार गरेको जानकारी दिए । उनले गृह मन्त्रालय पाएमा भ्रष्टाचार, अनुशासनहीनता जस्ता बेथितिहरू हटाउने आफ्नो योजना रहेको पनि खुलासा गरे । तर सरकारको प्रवक्ताको जिम्मेवारीसमेत वहन गर्नुपर्ने भएकाले सञ्चार मन्त्रालय स्विकार्नुपरेको उनले भनाई छ ।
कार्यक्रममा मन्त्रीमन्त्री गुरुङले सञ्चार मन्त्रालयमा बजेट र संरचनाको सीमितता भए पनि सुधारका प्रयासहरू जारी रहेको उल्लेख गर्दै, हाल सरकारले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमनका लागि विधेयक ल्याएको जानकारी गराए । उनले यस विधेयकले कसैको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने र सरकारको दायित्व अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु नै रहेको स्पष्ट पारे ।
सञ्चारमन्त्रीले पछिल्लो ९ महिनामा साइबर अपराधका घटनाहरू उल्लेख्य रूपमा बढेको र तिनको नियन्त्रणका लागि विधेयक निर्माण प्रक्रियामा रहेको पनि बताए । साथै, उनले आम सञ्चार ऐन र हुलाक सञ्चार ऐन संशोधन प्रक्रिया अघि बढाइएको र नेपाललाई सूचना प्रविधिको क्षेत्रीय केन्द्र (आईटी हब) बनाउन सकिने सम्भावनाबारे पनि विश्वास व्यक्त गरे ।
मन्त्री गुरुङले चलचित्र ऐनलाई पनि आजै राष्ट्रिय सभामा टेबुल गरिने जानकारी दिए । उनका अनुसार, पुराना कानूनलाई संशोधन गर्दै नयाँ युग अनुरूपको विधि निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकतामा परेको छ ।
