सांसद तथा कांग्रेस नेतृ माया राई सहकारी ठगी अभियोगमा पक्राउ


काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद माया राईलाई स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार राईलाई शनिबार राति कपनस्थित निवासबाट पक्राउ गरिएको हो ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा चलाउन सिफारिस भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उल्लेखनीय छ, राई २०७४ सालमा सो सहकारीकी सहसचिवको भूमिकामा रहेकी थिइन् । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा करिब ५ हजार ६ सय ६९ जना बचतकर्ताबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँभन्दा बढी ठगी भएको अनुसन्धानबाट खुलेको छ। प्रारम्भिक उजुरीमा मात्रै ६९० जना पीडितले १ अर्ब १९ करोड रुपैयाँ ठगी भएको दाबी गरेका थिए ।
यस प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा मुद्दा दायर गरिएको थियो । मुद्दा दर्ता हुँदा मुख्य अभियुक्तसहित ३४ जना फरार रहेका थिए ।
अनुसन्धान प्रतिवेदनअनुसार, स्वर्णलक्ष्मी सहकारीको रकम विभिन्न सेयरधनी, नाफामुखी कम्पनी र अन्य अनधिकृत व्यक्तिहरूले गैरकानुनी रूपमा अपचलन गरेका छन् । प्रारम्भमा माया राई प्रतिवादीको सूचीमा परेकी थिइनन्। तर, पछिल्लो अनुसन्धानपछि सरकारी वकिलको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राई नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा आवद्ध राई समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा पुगेकी हुन् ।
