देउवाको आश्वासनपछि बढ्यो ओलीको आत्मविश्वास : सत्ता सुरक्षित, आन्दोलनमा ध्यान केन्द्रीत


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवादपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार फेरबदल नहुनेमा निश्चिन्त भएका छन् । सत्ता राजनीतिले कोल्टे फेर्न सक्ने चर्चा चलिरहेकाले संशयमा परेका ओली शुक्रबार र शनिबार देउवासँग भएको वार्तापछि ढुक्क भएका हुन् ।
६ दिनको बैंकक बसाइपछि शुक्रबार काठमाडौं फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सत्ता गठबन्धनमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका थिए । देउवाको यो अभिव्यक्तिले ओलीमा लागेको संशय हटाएको छ । विमानस्थलमा अभिव्यक्ति दिएपछि ओली र देउवाबीच फोन संवाद भयो । उक्त संवादमा देउवाले फेरि पनि गठबन्धन यथावत् रहने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा ‘सरकार ढल्दैन, गठबन्धन बलियो छ’ भन्दै ढुक्क अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘शेरबहादुरजी फर्केपछि केही हुने जस्तो हल्ला फैलाइएको थियो, तर केही भएन । सरकार सुरक्षित छ ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा फर्किएपछि सत्ता समीकरण फेरिन सक्ने आशंका गरेका थिए । कांग्रेसभित्र पनि ओली सरकारप्रति असन्तुष्टि देखिँदै आएको थियो । यिनै कारणले ओली र एमालेभित्र केही समय संशय पैदा भएको थियो ।
ओली र देउवाबीच शनिबार साँझ पुनः बालुवाटारमा भेटवार्ता भयो । उक्त भेटमा गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त पनि सहभागी थिए । भेटमा मुख्यतः राजधानीमा चर्किएको शिक्षक आन्दोलन समाधान गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
शिक्षक आन्दोलनसँगै आवासीय चिकित्सकहरूको आन्दोलन र गभर्नर नियुक्तिमा भएको ढिलाइबारे कांग्रेसभित्र असन्तुष्टि बढेको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेको विषयले पनि कांग्रेसभित्र असन्तोष थपिएको बताइन्छ ।
कांग्रेस केन्द्रीय सदस्य एनपी सावदका अनुसार प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम राख्न नसक्दा थप दबाबमा परेका छन् । उता एमाले नेता पदम गिरी भने सत्ता गठबन्धन भत्किने कुनै संकेत नभएको दाबी गर्छन् । उनले भने, ‘‘धानमन्त्री आफैंले १५ महिनापछि सुकृतपूर्वक पद छाडेर देउवालाई जिम्मा दिने सहमति सार्वजनिक गर्नुभएको छ ।’
