पहलगाम हमलाप्रति कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाको निन्दा


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भारतको जम्मुकश्मीरको पहलगाममा अप्रिल २२ मा भएका आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन् । उनले निर्दोष नागरिकमाथि भएको यस अमानवीय आक्रमणप्रति गहिरो दुःख र पीडा व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
डा. कोइरालाले दुःख र शोकको यस घडीमा भारत सरकार र भारतीय जनतासँग ऐक्यबद्धता जनाउँदै हमलामा परी ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेका परिवारप्रति समेत सहानुभूति प्रकट गरेका छन् । उनले यस घृणित अपराधका दोषीलाई यथाशक्य चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने माग समेत गरेका छन् ।
उनले सबै किसिमका आतंकवाद र यसको सबै रूप र स्वरूपको स्पष्ट शब्दमा निन्दा गरेका छन् । ‘कुनै पनि कारण वा परिस्थितिमा आतंकवादलाई सहि ठहर गर्न सकिँदैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
दक्षिण एशिया क्षेत्र लामो समयदेखि आतंकवाद, विशेषगरी सीमा पार आतंकवादको शिकार बन्दै आएको उल्लेख गर्दै उनले यसले क्षेत्रीय शान्ति, सुरक्षा र समृद्धिमा गम्भीर चुनौती सिर्जना गरेको बताए ।
