किभमा आक्रमणपछि ट्रम्प आक्रोशित, रुसविरुद्ध कारबाहीको चेतावनी


वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको राजधानी किभमा भएको पछिल्लो आक्रमणप्रति तीव्र प्रतिक्रिया जनाउँदै रुसविरुद्ध कडा कदम चालिने चेतावनी दिएका छन् ।
बिहीबार रातिको हमलामा १२ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका घटनाले आफूलाई ‘गहिरो निराश’ बनाएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै लेखे, ‘अनावश्यक र धेरै खराब समयमा, भ्लादिमिर । अब यो रोकौँ ।’
ट्रम्पले आफूले युद्ध रोक्न दुवै पक्षलाई निरन्तर दबाब दिइरहेको बताएका छन् । उनले युक्रेनमा जारी द्वन्द्व समाधानका लागि राजनीतिक सहमतिको मार्ग खोज्नुपर्नेमा जोड दिएका छन् । सन् २०२4 को चुनावी अभियानताका पनि उनले रुस-युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो आक्रमण त्यस समयमा भएको हो, जब युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी पक्षबीच केही भू-भाग सुम्पिनेबारे वार्ता प्रयास भइरहेको थियो ।
यसैबीच ट्रम्पले बिहीबार नर्वेका प्रधानमन्त्री जोन कार स्टारसँगको भेटवार्तामा आफू कुनै पक्षको समर्थनमा नभई युद्धबाट निर्दोष मानिसको ज्यान जोगाउने पक्षमा रहेको स्पष्ट पारेका छन् । तर, दक्षिण अफ्रिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने ट्रम्पले युद्धविरामको बहानामा रुसप्रति लचिलो व्यवहार देखाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
