काश्मीरमा मारिएका सुदीपको अन्त्येष्टि (तस्बिरहरु)


काठमाडौं । भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ ।
उनको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको हो । मङ्गलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।
सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो ।
सुदीपकी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए ।
त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मङ्गलवार दिउँसो एक्कासि बन्दुकधारी आतङ्कवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।
सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् ।
सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।
