अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार


काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीले युवा महिलाको सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्ने भएको छ ।
अनेमसङ्घ केन्द्रीय युवा कमिटीले आज पत्रकार सम्मेलन गरी ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेलाको आयोजना गर्न लागिएको जनाएको हो ।
युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताइन् ।
“युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण हुन्छ, युवा परिचालनबाट मात्र कुनै पनि देशले विकासको गति समात्न सक्छ”, उनले भनिन् “पछिल्लो राजनीतिक घटनाक्रमले युवामा राजनीतिप्रति अत्यधिक चासो छ भन्ने देखाउँछ, तिनको सही ढङ्गले परिचालन हुन नसक्दा पश्चगामी सोच राख्ने र गणतन्त्रविरोधी तत्वले उनीहरूलाई गलत बाटोमा लैजाने खतरा हुन्छ ।”
भेलामा उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल हुनेछ ।
साथै युवा महिला केन्द्रित राज्यका नीति, कार्यक्रम र प्रभावकारिता, जलवायु परिवर्तन, आप्रवासन र युवा महिलामा अर्थतन्त्रले पारेको प्रभाव, अनुकूलनको अभ्यास र प्रविधिको विकासले महिलामा पारेको प्रभाव, सम्भावना र चुनौतीको विषयमा विस्तृत रूपमा छलफल हुने जानकारी दिइयो ।
सम्मेलनमा सात प्रदेश र ७७ जिल्ला कमिटीबाट तीन÷तीन जना गरी ४० वर्षमुनिका करिब पाँच सय युवा महिलाको सहभागिता रहने सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिइन् । भेला युवा महिलाको आवश्यकताः आकाङ्क्षा र आवाजलाई राज्य र राजनीतिक दलका नीति, संरचना र कार्यक्रममा पुर्याउने अभियानको सुरुआत भएको उनले बताइन् ।
अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको महभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ ।
सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ । यसअघि पहिलो राष्ट्रिय भेला २०८९ सालमा भएको थियो ।
