शिक्षकको मृत्यु भएपछि सडकमै शोक मनाउँदै शिक्षक, नाचगानमा प्रतिबन्ध


काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आफ्नो आन्दोलनको २०औं दिन विशेष रूपमा मनाउने निर्णय गरेका छन् । हालै सवारी दुर्घटनामा ज्यान गुमाएका एक शिक्षकको सम्झनामा आज उनीहरूले सडकमा शोकसभा आयोजना गर्दैछन् ।
मनाङको नार्फु गाउँपालिका-८ स्थायी घर भई नासो गाउँपालिका-८ स्थित जनविकास आधारभूत विद्यालयमा कार्यरत प्रधानाध्यापक मन घलेको सवारी दुर्घटनामा निधन भएपछि उनको सम्मानमा नेपाल शिक्षक महासंघले शोक कार्यक्रमको आयोजना गरेको हो ।
महासंघले आजको दिन कुनै पनि नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न शिक्षकहरूलाई निर्देशन दिएको छ । महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनमा सहभागी सबै शिक्षकहरूलाई अनुशासनमा रहन र शालीन व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीप्रति कुनै प्रकारको अपशब्द प्रयोग नगर्न समेत स्पष्ट निर्देशन दिएका छन् ।
बिहान ९ बजेदेखि सुरु भएको आन्दोलनका कारण काठमाडौंको माइतीघर-नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध बनेको छ । सडक बन्द हुँदा कार्यालय जाने कर्मचारी, विद्यार्थी र सर्वसाधारणलाई दैनिक आवतजावतमा अप्ठ्यारो परेको छ। ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।
