रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले लामो समयदेखि शिक्षा विधेयक ल्याउन माग राखी विगत १५ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दललाई निर्देशन दिएको छ ।

आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको मिति तोकेको छ । पार्टीले महाअधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको छ ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ।

निर्धारित क्यालेन्डर अनुसार पार्टीले २०८२ असोजसम्ममा वडा अधिवेशन सम्पन्न गरिसक्ने, कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७ ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकबाट पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनाहरूलाई अझै सशक्त बनाउने उद्देश्यले देहायका प्रदेश इन्चार्जहरू तोकिएको छ ।

१) कोसी प्रदेशको इन्चार्ज सन्तोष परियार
२) मधेस प्रदेशको इन्चार्ज मनिष झा
३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल

बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा पार्टीले बनाउँदै गरेको “ब्लु प्रिन्ट” बारे खाका प्रस्तुत गर्दै सोको उद्देश्य, सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधार रहेको व्याख्या समेत प्रस्तुत गरियो । आजकै बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको “जन-यात्रा अभियान” को कार्यविधि सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिए । साथै सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता उल्लंघन नगर्न र सभ्य रूपमा प्रस्तुत हुन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *