महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को सेवालाई कदर हुने गरी बजेट ल्याउने बताएका छन् ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीहरूको माग तथा सुझाव पत्र आज सुर्खेत वीरेन्द्रनगरमा ग्रहण गर्दै उनले स्वयंसेवीहरूको सेवालाई सम्मान हुने बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवद्र्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनले स्वयंसेवी महिलाहरूलाई राज्यका निकायबाट कदर हुन नसकेका बारेमा आफू जानकार जनाए ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै उनले भने, ‘कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ । कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ ।’

नेभाका तर्फबाट दिइएका सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज मन्त्री भण्डारीको भनाइ थियो ।

स्वयंसेवीहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत सात हजार उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव मन्त्रीसमक्ष पेस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *