पार्टीबाट निलम्बित पाण्डेले भेटिन् ओली, दिइन पुस्तक उपहार


काठमाडौं । नेकपा एमालेकी निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डेले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेतृ पाण्डेले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । दिउँसो १ बजे एक्लै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भेट्न पुगेकी उनले ४५ मिनेट ओलीसँग कुराकानी गरेकी थिइन् ।
नेतृ पाण्डेलाई प्रधानमन्त्री ओलीले नै भेटका लागि निम्ता दिएका थिए । हिजो नयाँ वर्षको शुभकामना दिन फोन गरेका ओलीले पाण्डेलाई भेट्न बोलाएका थिए । प्रधानमन्त्रीको आग्रहमा पाण्डे आज प्रधानमन्त्री ओलीलाई भेट्न गएकी हुन् ।
पार्टी कार्यालय निर्माणका लागि जग्गा दान लिएको प्रकरणको विरोध गरेबापत एमालेले पाण्डेलाई पुसमा निलम्बन गरेको थियो । पार्टीबाट निलम्बन भएपछि पाण्डेले पहिलो पटक ओलीलाई भेटेकी हुन् ।
भेटमा नेतृ पाण्डेले प्रधानमन्त्री ओलीलाई एउटा पुस्तक उपहार दिइन् । पञ्चायतकालीन भूमिगत दिनहरूमा नेताहरूलाई सेल्टरमा जोगाउने कार्यकर्ता, समर्थक र आम शुभेच्छुकबारे यसबिचमा आफूले तयार पारेको पुस्तक ‘भुइँमान्छे’ दिँदै पढेर सुझाव दिन आग्रह गरिन् ।
ओलीले पाण्डेको किताब आएकामा हर्ष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले पाण्डेलाई पार्टीको नियमित काममा फर्कन आग्रह गरेको बताइएको छ ।
