राजवादीलक्षित महासचिव चन्दको टिप्पणी : जनतालाई प्रभुहरूको खाँचो छैन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरूलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गरेका छन् ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले केही तत्त्वहरू गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गरेका हुन् ।
उनले सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए ।
नागरिकका सबै चाहानाहरू पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ । उनले जनतासँग हारेर सत्ता गुमाएका तत्त्वहरू विदेशीको उत्साहटमा गणतन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताए ।
उनले भने, ‘गणतन्त्र आएपछि केही नेपाहरुको उठीबास भएको छ नेपालमा । हामीले दुई वटा दुश्मनहरुका विरुद्ध लडेका हौं । हामी दुई वटा बन्धन र दुई वटा समस्याका विरुद्धमा लडेका हौं । हामीले सामन्तवादको विरुद्धमा लडेका हौं । हामी दलाल पुँजीवादको विरुद्धमा लडेका हौं । सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौं । आज जसले हारेर सत्ता गुमाए, जसले स्वर्गको आनन्दलाई भंग भएको महशुस गरेका छन् ती तत्वहरुले विदेशी तत्त्वहरूको उत्साहटमा देशमा हराइएका र जनताको बलद्वारा धुलो परेका सामन्ती तत्त्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरूलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तहरूको खाँचो छैन । ’
उनले गणतन्त्रको पक्षमा लडेका नागरिकहरू अधिकार सम्पन्न भइनसकेका कारण आफूहरू अगाडि बढ्न खोजिरहेको बताए ।
