केवलकार निर्माण विवाद : स्थानीय प्रतिनिधिलाई वार्तामा आउन गृहले गर्यो पत्राचार


काठमाडौं । ताप्लेजुङ स्थित पाथीभरा क्षेत्रमा निर्माणाधिन केवलकारको विवाद समाधानको लागि गृह मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको छ । वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन् ।
‘पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु,’भट्टराईद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
