आयल निगमको रुपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

हाल रुपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।

डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अंकित रिमालले जानकारी दिए । आयोजनाको डिपिआर काठमाडौँ विश्व विद्यालय अन्तर्गतको काठमाडौँ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए ।

आठ महिना भित्रमा डिपिआर तयार गर्नेगरी काठमाडौँ युनिकन्सल्टसँग सम्झौता भएको र डिपिआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए ।

रुपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भएपनि डिपिआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *