संसदमा चर्को आलोचना गरेपछि प्रचण्डमाथि यसरी प्रस्तुत भए ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकरसंग भेट गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गरेका छन् ।
बिहीबार साँझ ओलीले टिकटकर मिस पवि र अंशु वर्मासंग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंगलाई लिएर कटाक्ष गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकटकरहरु मिस पवि र अंशु वर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकामा धन्यवाद दिए ।
उनीहरुले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताए । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव दिए ।
प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरु सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाए ।
‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ। सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो। उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो,’प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।
आज मात्रै संसदमा प्रचण्डले ओलीको चर्को आलोचना गरेका थिए । प्रचण्डले ओली नेतृत्वको सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको समेत विरोध गरेका थिए ।
अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।
