अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौँ : राजकिशोर यादव


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।
उनले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसेको बताए । उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेको समेत उल्लेख गरे ।
उनले सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भएपनि आफूहरूले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको समेत जानकारी दिए ।
उपाध्यक्ष यादवले भने ‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौं । निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो । तर संसदको कार्यसूचीबाटै अध्यादेश पेस गर्ने कार्यसूची हटाइयो । त्यो भइसकेपछि यसलाई अझै गहिरो तरिकाले अध्ययन गरेर अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने भनेर आज छलफल भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी अध्यक्ष र म स्वयं भेटेका हौँ । उहाँले अध्यादेशमा सहयोग गर्नुस् भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दैछ । त्यसपछि दलको बैठक बसेर पार्टीले आधिकारिक निर्णय लिन्छ, त्यही निर्णयका आधारमा हामी अगाडि बढ्छौँ भन्ने कुरा राख्यौँ । सरकारको विषयमा र बाहिर आएका कुनै पनि विषयमा कुरा भएको छैन । सबै मिथ्या हुन् ।’
सरकारले ल्याएका अध्यादेशको सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन जसपा नेपालले कार्यदल गठन गरेको थियो । जसपाले अध्यादेशको कन्टेन्टको आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ ।
