उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको पूर्वानुमान छ ।
त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो । जसकारण विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान छ ।
काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसले नदी किनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।
बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरू बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ । अहिले नदी किनारमा उपत्यकावासीले गरेको/फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ ।
प्लास्टिकजन्य फोहोरहरू यत्रतत्र देख्न पाइन्छ । जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदाङ्गो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ ।
किनपनि भने अनुशासित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ । यस्तो फोहोरका कारण रोगहरू निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ ।