विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छन् ।
मंगलवार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उनले यस्तो बताएकी हुन् । उनले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन् । उनले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताइन् ।
मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाउने पनि बताइन् । उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने बताइन् ।
उनले भनिन् ‘विगतमा त्रिभुवन विश्वविद्यालयका ४ वटा अनुसन्धान केन्द्रहरू निकै सक्रिय थिए । राष्ट्रिय जीवनका शिक्षा प्रशासन विज्ञान तथा प्रविधि, अर्थतन्त्र, इतिहास तथा संस्कृति लगायत लगायतका क्षेत्रमा उल्लेख्य अनुसन्धान गर्न र तिनको प्रभाव देशव्यापी रुपमा फैल्याउन सफल थिए । यद्यपि हाल विभिन्न कारणले यी अनुसन्धान केन्द्रहरू अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् । तर नेपाल सरकारले चाँडै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने र नेपाल सरकारका विभिन्न अनुसन्धानहरूलाई समेत विश्वविद्यालयका तिनै अनुसन्धान केन्द्रहरूमार्फत गतिविधि अख्तियार गर्ने र आगामी दिनमा ती केन्द्रहरूलाई नेपाल सरकारको थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । आगामी दिनमा यसको लागि समेत प्रयत्न अघि बढाइनेछ । नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त छ । रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेका छन् । तिनलाई स्वदेशमा नै उनीहरूको मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्न पनि हाम्रो ध्यान जानु आवश्यक छ । यसका लागि हामीले हाम्रा शैक्षिक कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ ।’
मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागू गर्नुपर्ने बताइन् ।