पहिरो खसेपछि बेँसीसहर-चामे सडक अवरुद्ध

२०८१ असार ६ गते

बेँसीसहर । पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका-६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढीपहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाख रुपैयाँको आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

२०८१ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित